मङ्लबार, भदौ २८, २०८३
Breaking News

निषेधाज्ञा तोड्न खोज्दा कमल थापा प्रहरी नियन्त्रणमा

समाचार कक्ष आइतवार, जेष्ठ १७, २०८२

प्रहरी नियन्त्रणमा कमल थापा

काठमाडौं | राजसंस्था पुनःस्थापनाको माग गर्दै जारी आन्दोलनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा आइतबार काठमाडौंको नारायणचौरबाट पक्राउ परेका छन्। प्रदर्शनकारीहरूको जुलुस बालुवाटारतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र उल्लंघन गर्न खोज्दा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, थापाले भिडलाई उत्तेजित पार्ने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले भने, “भिडलाई भड्काउन खोजेपछि उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं” ।

थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना लगायत ६ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी परिस, भद्रकालीमा लगिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको गिरफ्तारीको विरोध गर्दै देशभर आन्दोलन चर्काउने चेतावनी दिएका छन्। उनले भने, “देशभरबाट साथीहरूलाई बोलाउँछौं, भोलिबाट खास लडाइँ सुरू हुन्छ। अब हामी एक ठाउँबाट होइन ५० ठाउँबाट निस्कन्छौं” ।

राजावादी आन्दोलन थप चर्किने संकेत

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ। उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले ‘जनआन्दोलन’ गरिरहेको छ ।

प्रदर्शनका क्रममा थापाले “भ्रष्ट सरकार मुर्दावाद” भन्दै नाराबाजी गरेका थिए । प्रहरीले उनलाई तान्दै भ्यानमा हालेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

सरकारले आन्दोलनलाई नियन्त्रणमा लिन नारायणहिटी दरबार क्षेत्र लगायतका स्थानहरूमा निषेधाज्ञा जारी गरेको छ। तर, प्रदर्शनकारीहरूले बालुवाटारसम्म पुगेर सरकारलाई खुला चुनौती दिएका छन् ।

राजावादी आन्दोलन हाल काठमाडौं केन्द्रित रहेको छ। उनीहरूले आगामी दिनमा आन्दोलनलाई देशभर विस्तार गर्ने योजना बनाएका छन्।

सम्बन्धित खबर