मङ्लबार, भदौ २८, २०८३
Breaking News

राजावादीद्वारा उपत्यका बन्दको घोषणा, स्थानीय प्रशासनले निषेधित क्षेत्रको दायरा बढायो

समाचार कक्ष आइतवार, जेष्ठ १७, २०८२

काठमाडौं | राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै संघर्षरत राजावादी समूहले भोलि (जेठ १९ गते) काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उपत्यका बन्दको जानकारी दिएका हुन्।

विज्ञप्तिमा सरकारले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको आरोप लगाइएको छ। “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं। यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,” सुवेदीले भनेका छन्।

समितिले आन्दोलनमा सहभागी सबै नागरिकलाई आ-आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण तवरले आ-आफ्नो स्थानबाट विरोध जनाउनुहोस् र आन्दोलनलाई सफल पार्नुहोस्।”

आइतबारको आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायत नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो। राजावादी समूहले ती पक्राउलाई अमानवीय र असंवैधानिक भन्दै तीव्र विरोध जनाएको छ। “शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्‍यो, त्यसको हामी घोर निन्दा गर्दछौं,” सुवेदीको भनाइ छ।

पक्राउ परेका नेताहरु सहित ७ जनालाई बेलुकी रिहा गरिएको छ (अपडेट) |

यसैबीच, स्थानीय प्रशासनले सम्भावित तनाव र प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको कोटेश्वर, बल्खु र सिफल क्षेत्र बाहेकका ठाउलाई निषेधित क्षेत्र घोषणा गरेको छ। ती क्षेत्रमा पाँचजनाभन्दा बढी भेला हुन, प्रदर्शन गर्न र धर्ना बस्न नपाइने आदेश प्रशासनले जारी गरेको छ।

आन्दोलनरत राजावादीका तर्फबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै आन्दोलन लक्षित गरि आएको निषेधित क्षेत्र सम्बन्धि स्थानीय प्रसाशनको पछिल्लो आदेशको विरोध गरेका छन् | जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट काठमाडौंका तीन क्षेत्रबाहेक अन्यत्र प्रदर्शन गर्न नपाउनेगरी आदेश जारी गर्ने निर्णय भएकोप्रति राप्रपाले आपत्ति जनाएको हो।

सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको जनाइएको छ भने सर्वसाधारणलाई शान्ति सुरक्षाको ख्याल राख्दै संयमित रहन प्रशासनले अनुरोध गरेको छ।

सम्बन्धित खबर