काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं | वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज (आईतबार) जावलाखेलमा आयोजित विशेष जात्रामा देखाइने भएको छ। यसै अवसरमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्वजनिक बिदा दिइएको छ।
करिब ८ सय वर्षअघि ‘जावलाखेल जात्रा’ नामबाट चिनिने यो जात्रालाई पछि ‘भोटो जात्रा’ भनिन थालिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार ‘जा’ भन्नाले ‘भात’ र ‘वला’ भन्नाले ‘छर्ने’ जनाउँछ, जसले गर्दा यो जात्रा भूत–प्रेतलाई खाना अर्पण गर्ने धार्मिक परम्परासँग जोडिएको मानिन्छ।
भोटो जात्राको सुरुवातको ठ्याक्कै मिति नखुले पनि रातो मच्छेन्द्रनाथको रथयात्राको सांस्कृतिक चलन भने करिब १३०० वर्षअघि सुरु भएको मानिन्छ। एक प्राचीन किंवदन्ती अनुसार नागराज कर्कोटककी रानीको आँखा दुखेपछि नागलोक टौदहबाट वैद्य खोज्दा एक किसानलाई भ्रमवश लैजाने घटना भोटो जात्रासँग जोडिएको छ। किसानले रातो मच्छेन्द्रनाथको प्रार्थना गरी बनाएको औषधिले रानी निको भएपछि उपहारस्वरूप बहुमूल्य भोटो दिइएको थियो।
तर, पछि एक भूतले त्यो भोटो चोरेर लगाएको विश्वास गरिन्छ। किसानले मच्छेन्द्रनाथको जात्रामा त्यो भोटो देखेपछि विवाद भयो। अन्ततः भोटो कसैको नभइ रातो मच्छेन्द्रनाथकै जिम्मामा राख्ने निर्णय गरियो। तबदेखि हरेक वर्ष साइत हेरी भोटो देखाउने परम्परा बसालिएको हो। अहिलेसम्म पनि कसैले प्रमाणसहित दाबी गरेर भोटो लैजान सकेको छैन।

हाल भोटो जात्राको आयोजना गुठी संस्थान ललितपुर र राष्ट्राध्यक्षको उपस्थितिमा गरिँदै आएको छ। आजको जात्रामा पनि हजारौं श्रद्धालु, संस्कृति प्रेमी तथा पर्यटकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।





