काठमाडौं | लायन्स क्लब्स इन्टरनेशनल मल्टिपल डिस्ट्रीक्ट ३२५ नेपालद्वारा काठमाडौंमा सम्पन्न ऐतिहासिक कन्भेसनमा लायन राजन लम्साल ‘आईडी इन्डोर्सी’ पदमा भारी मतले विजयी हुनुभएको छ । उहाँले १,३८७ मत प्राप्त गर्दै लायन खगेन्द्र सिटौलालाई ८५६ मतले पराजित गर्नुभयो। सिटौलाले ५३१ मत प्राप्त गर्नुभएको थियो।
यस जितसँगै लम्साल सन् २०२६ मा हङकङमा आयोजना हुने लायन्स इन्टरनेशनल कन्वेन्सनमा नेपालको आधिकारिक उम्मेदवारका रूपमा सहभागि हुनुहुनेछ । लम्सालको तीन दशक लामो लायनिज्म यात्रा सामाजिक सेवा, नेतृत्व र नवीन कार्यदिशाका लागि चिनिन्छ।
स्याङ्जामा जन्मेका लम्सालले १९९७ मा संखुवासभाको खाँदबारीबाट लायन्स यात्रा शुरू गर्नुभएको थियो । उहाँले मोतियाबिन्दु शल्यक्रिया, पुस्तकालय स्थापना, स्वास्थ्य शिविर र खानेपानी परियोजनामा उल्लेखनीय भूमिका खेल्नुभएको छ। ‘लायन्स मनरम प्रतिष्ठान’ का संस्थापक महासचिव एवं हाल उपाध्यक्ष समेत रहेका उनले संस्था मार्फत देशभर १५४ सामुदायिक विद्यालयहरुमा पुस्तकालय स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।
लम्सालकी जीवन संगिनी इन्दु लम्साल पनि पूर्व डिस्ट्रिक्ट गभर्नर हुनुहुन्छ। यो जोडी लायन्स इतिहासको पहिलो नेपाली श्रीमान–श्रीमती डिस्ट्रिक्ट गभर्नर जोडी हो। लम्सालको यो विजयले नेपाललाई अन्तर्राष्ट्रिय लायन्स आन्दोलनमा थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।





