भारत | भारतको अहमदाबादबाट लण्डन ग्याटविकतर्फ उडान भरेको एयर इन्डियाको विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परेको उक्त विमानमा कम्तीमा २४२ जना सवार थिए।
प्रहरी र एयर इन्डिया दुबै स्रोतले दुर्घटनाको पुष्टि गरे पनि हालसम्म मृत्यु वा घाइतेको स्पष्ट विवरण दिइएको छैन। एयर इन्डियाले घटनाबारे अनुसन्धान जारी रहेको र थप विवरण पछि सार्वजनिक गरिने जनाएको छ।

एयर इन्डियाको AI171 नम्बरको उक्त बिमान अहमदाबाद विमानस्थलबाट बेलायतको लण्डन ग्याटविक विमानस्थलका लागि उडेको थियो । विमानस्थल नजिकैको मानववस्ती क्षेत्रमै विमान खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्।
टेलिभिजन च्यानलहरूले देखाएका दृश्यहरूमा विमानको भग्नावशेषमा आगो लागेको र बाक्लो कालो धुवाँ आकाशमा उडिरहेको देखिन्छ। दुर्घटनास्थलमा उद्धारकर्मीहरूले घाइतेहरूलाई स्ट्रेचरमा राखेर एम्बुलेन्समार्फत अस्पताल पठाइरहेका देखिएका छन्।
समाचार संस्था ANI का अनुसार विमानमा कुल २४२ जना सवार थिए। यद्यपि, भारतकै CNN News18 ले भने २२० जना यात्रु र १२ जना चालक दलका सदस्य रहेको जनाएको छ।
दुर्घटनाको कारणबारे अहिलेसम्म कुनै आधिकारिक विवरण आएको छैन।





