काठमाडौं।गोरखापत्र संस्थानअन्तर्गत प्रकाशन हुने साहित्यिक मासिक मधुपर्क को ५८औं वार्षिकोत्सवको अवसरमा तीन जना वरिष्ठ साहित्यकारलाई विशेष सम्मान गरिएको छ। आज काठमाडौंमा आयोजित समारोहमा कवि ज्ञान उदास, आख्यानकार ध्रुव सापकोटा र पद्मावती सिंहलाई मधुपर्क सम्मान २०८२ प्रदान गरिएको हो।
उहाँहरुलाई जनही ५० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित गरिएको हो। सम्मान गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले प्रदान गर्नुभएको थियो।
समारोहमा वरिष्ठ साहित्यकार डा. विमलले नेपाली साहित्य अहिले चिन्ताजनक मोडमा पुगेको चर्चा गर्नुभयो। विश्वविद्यालयमा विद्यार्थी घट्दै जानु, शिक्षकको अभाव हुनुजस्ता कारणले साहित्यप्रति नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको उल्लेख गर्दै उहाँले मधुपर्कले यस्ता परिस्थितिमा पनि नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। डा. विमलले साहित्यकारले समाजलाई जोड्ने खालका सन्देशमूलक सिर्जनामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले मधुपर्क ले नेपाली साहित्यको समृद्ध इतिहासलाई जगेर्ना गर्दै आएको बताउनुभयो। संस्थानले मधुपर्क मा प्रकाशित सामग्रीहरूलाई डिजिटलाइज गर्दै साहित्यिक धरोहरलाई सुरक्षित राख्ने कार्य गरिरहेको जानकारी दिनुभयो। साथै, उहाँले आगामी दिनमा मधुपर्क को सामग्री थप समृद्ध र विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभयो।
वरिष्ठ कवि ज्ञान उदासले साहित्य सिर्जना इमान र निरन्तर साधनासँग जोडिएको भन्दै साहित्यकारले आफ्नो कलममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने धारणा राख्नुभयो। यसैगरी, वरिष्ठ साहित्यकार कृष्ण गौतमले साहित्य आत्माको आवाज भएको चर्चा गर्दै सर्जकहरूले जस्तोसुकै परिस्थितिमा पनि सिर्जना निरन्तर राख्नुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा सम्मानित साहित्यकारहरू ध्रुव सापकोटा र पद्मावती सिंहले मधुपर्क ले नेपाली साहित्यमा पु¥याएको योगदानलाई सम्झनुभयो।
निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, द राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी तथा संस्थानका विभागीय प्रमुख र साहित्यिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो।





