मङ्लबार, भदौ २८, २०८३
क्रिकेट

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक पहिलो द्विपक्षीय टी-२० सिरिज सेप्टेम्बरमा खेलिने

समाचार कक्ष शनिबार, जेष्ठ ३०, २०८२

काठमाडौं। नेपाल र वेस्ट इन्डिजबीचको पहिलो ऐतिहासिक द्विपक्षीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आगामी सेप्टेम्बरमा हुने भएको छ। दुवै टिमले तीन खेलको यो सिरिज सेप्टेम्बर २७, २८ र ३० तारिखमा शारजाहमा खेल्नेछन्।

यद्यपि खेलहरू शारजाहमा आयोजना गरिने भए पनि आयोजक राष्ट्रको रुपमा नेपाल रहनेछ।

क्रिकेट वेस्ट इन्डिज (CWI) ले यो सिरिजलाई ‘ऐतिहासिक’ भन्दै क्रिकेटको विश्वव्यापी विस्तारको दिशामा एक महत्वपूर्ण कदमको रूपमा उल्लेख गरेको छ।

क्रिकेट वेस्ट इन्डिज का प्रमुख कार्यकारी अधिकृत क्रिस डेहरिङले जारी गरेको वक्तव्यमा भनेका छन्, “यो सिरिज केवल केही अन्तर्राष्ट्रिय खेल मात्रै होइन, यो खेलको फैलँदो विश्वव्यापी उपस्थितिको उत्सव हो। क्रिकेटले जुन एकता, गर्व र उद्देश्य बोकेको छ, यसको उदाहरण हो। पूर्ण सदस्य राष्ट्रको रूपमा क्रिकेटलाई विश्वभर फैलाउन र विकास गर्न हामी प्रतिबद्ध छौं।”

उनले थपे, “नेपाललाई उनीहरूको क्रिकेट यात्रा र विकासको यो महत्त्वपूर्ण चरणमा साथ दिन पाउनु गर्वको कुरा हो। यसले तल्लो तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म खेललाई बलियो बनाउन सहयोग गर्छ।”

यस सिरिजमार्फत नेपाल आगामी वर्ष हुने पुरुष टी-२० विश्वकप एसिया छनोटका लागि तयारी गर्नेछ। वेस्ट इन्डिजले प्रतिस्पर्धात्मक टिम उतार्ने जनाएको छ।

हाल वेस्ट इन्डिजको टी-२० टिम आयरल्याण्डमा तीन खेलको टी-२० सिरिज खेल्न गएका छन् जसअन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। उता नेपाल हाल स्कटल्याण्डमा नेदरल्याण्ड्ससहितको त्रिकोणात्मक टी-२० सिरिजमा सहभागी छ।

विश्व टी-२० वरियतामा वेस्ट इन्डिज पाँचौं स्थानमा रहँदा नेपाल १८ औं स्थानमा रहेको छ। वेस्ट इन्डिजले अहिलेसम्म दुईपटक टी-२० विश्वकपको उपाधि जितिसकेको छ।
(इएसपिएनको समाचारमा आधारित)

सम्बन्धित खबर