मङ्लबार, भदौ २८, २०८३
Breaking News

रास्वपा र राप्रपाको अवरोध तैपनि रोकेनन् सभामुखले संसद बैठक

समाचार कक्ष आइतवार, जेष्ठ ३१, २०८२

काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बीच प्रतिनिधिसभाको बैठक शनिबार पनि निरन्तर अघि बढेको छ। विपक्षी दलहरूको नाराबाजी र अवरोधलाई बेवास्ता गर्दै सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेका हुन्।

बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले वेल घेरेर नाराबाजी गरे भने राप्रपाका सांसदहरू आफ्ना आसनमा उभिएर विरोध जनाए। तर सभामुखले प्रतिपक्षी दलहरूको अवरोधलाई नमान्दै बैठकलाई निरन्तरता दिए।

सहमतिको आग्रह बेवास्ता

नेकपा (एकीकृत समाजवादी) र राप्रपाका शीर्ष नेताहरूले सभामुखलाई बैठक स्थगित गरी सहमतिको प्रयास गर्न आग्रह गरेका थिए। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संसद् असहज परिस्थितिमा सञ्चालन गर्नु उचित नहुने तर्क गरेका थिए।

सभामुखबाट समय पाएपछि प्रमुख सचेतक शाहीले भने, “संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो।” उनले आन्दोलनरत सांसदहरू पनि जनताले निर्वाचित गरेको जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्नेमा जोड दिए।

तर, सभामुख घिमिरेले ती आग्रहहरूलाई सम्बोधन नगरी बैठक अघि बढाए।

बजेटमाथि छलफल सुरु

सभामुखले आकस्मिक समय चलाएर राष्ट्रिय सभाबाट पारित विधेयकहरूको सन्देश सुनाए। त्यसपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफलका लागि प्रस्ताव पेश गर्न समय दिइयो।

पौडेलले मन्तव्य राख्न थालेपछि एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले पुनः समय माग्दै नाराबाजीबीच मन्त्रीका कुरा सुनिन नसकिने बताए। “यो बैठक स्थगित गरी सहमतिको आधारमा मात्र अघि बढाउनु उचित हुन्छ,” पाण्डेले भने।

तर सभामुखले पाण्डेको आग्रह पनि नस्वीकार्दै बैठक निरन्तर अघि बढाए।

संसद् दुई धारमा विभाजित

हाल संसद्मा केही दलका सांसदहरू नाराबाजी जारी राखिरहेका छन् भने अन्य दलका सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्ने कामलाई निरन्तरता दिइरहेका छन्।

यसरी संसद्मा प्रतिपक्षी दलहरूको असन्तोषपूर्ण वातावरण र सत्तापक्षको अडानबीच बजेट छलफल अघि बढिरहेको छ।

सम्बन्धित खबर