काठमाडौँ | इजरायल र इरान तनाव निरन्तर बढ्दो क्रममा छ । इरानको आणविक केन्द्र लक्षित आक्रमण गरिएको इजरायलको दावी छ । यद्यपि इरानी सैनिक अखडा, तालिम केन्द्र तथा सरकारी संरचनाहरु लक्षित हमला तीब्र रुपमा भैरहेको अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । यसैबीच इरानको राष्ट्रिय प्रशारण केन्द्रमा गरिएको पछिल्लो आक्रमणबाट राष्ट्रिय टेलिभिजनमा क्षति पुगेको छ । सो आक्रमणमा परि इरानको राष्ट्रिय प्रशारण केन्द्रमा कार्यरत दुई सन्चारकर्मी समेत मारिएको अलजजिराले उल्लेख गरेको छ ।
यो आक्रमणको ठिक अगाडी इजरायली रक्षा मन्त्री इस्राएल कात्जले चेतावनी दिँदै भनेका थिए, “इरानी प्रचार र उत्तेजनाको मुखपत्र अब मेटिँदैछ।”
इरानले आफ्नो राष्ट्रिय टेलिभिजनमा आक्रमणपछि इस्रायली भूमिमा अहिलेसम्मकै ठूलो र तीव्र क्षेप्यास्त्र आक्रमणको तयारी गरिरहेको बताएको छ। तेहरानमा शक्तिशाली विस्फोटहरू भएका छन् र तेल अविवमा हवाई हमला सङ्केत गर्ने साइरनहरू बजिरहेका छन् ।
हालसम्म इजरायलले इरानमा गरेको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२० भन्दा माथि पुगेको छ, जसमा ७० जना महिला र बालबालिका छन्। इरानले इजरायलमाथि गरेको आक्रमणमा २० भन्दा बढीको मृत्यु भएको छ।
डोनाल्ड ट्रम्पद्वारा तेहरानका वासिन्दालाई शहर छोड्न निर्देशन, जेरुशलेमस्थित अमेरिकी दूतावास आज बन्द
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण निर्देशन दिँदै तेहरानका सबै बासिन्दालाई भाग्न आग्रह भनेका छन् । इजरायल इरानको पछिल्लो द्वन्दमा अमेरिकी संलग्नता नहुने बताउँदै आएका ट्रम्पले परोक्ष रुपमा इजरायलको समर्थन गरिरहेको अन्तराष्ट्रिय विश्लेषकहरुको भनाइ छ ।
उता, इजरायलमा जारी तनावपूर्ण स्थितिका कारण जेरुशलेमस्थित अमेरिकी दूतावासले आज (मंगलबार) बन्द रहने घोषणा गरेको छ। दूतावासले आफ्ना सबै कर्मचारी तथा तिनका परिवारका सदस्यहरूलाई अर्को सूचना नआउँदासम्म आफ्नै निवास वा वरपर आश्रयमा बस्न निर्देशन दिएको छ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै तेल अविवस्थित आफ्नो शाखा पनि बन्द रहने जानकारी दिएको छ।
“अमेरिकी दूतावास हालको अवस्थामा अमेरिकी नागरिकहरूलाई इजरायलबाट उद्धार गर्न वा उनीहरूको प्रस्थानमा प्रत्यक्ष सहयोग गर्न सक्षम छैन,” दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
हाल इजरायल र इरानबीचको बढ्दो तनाव, क्षेप्यास्त्र आक्रमणको खतरा र व्यापक द्वन्द्वको सम्भावनाका कारण अमेरिकाले आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गर्दै आएको छ।
इरानले रातभरमा १० भन्दा कम क्षेप्यास्त्र प्रक्षेपण गरेको इजरायली सेनाको दाबी
इजरायली सेनाले इरानद्वारा सोमबार राति १० भन्दा कम क्षेप्यास्त्र प्रक्षेपण गरेको दाबी गरेको छ। “द टाइम्स अफ इजरायल” ले इजरायली सैन्य स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
प्रकाशित समाचार अनुसार ती क्षेप्यास्त्र तीन चरणमा प्रक्षेपण गरिएका थिए, जसमा मध्य इजरायल र उत्तरी क्षेत्रलाई लक्षित गरिएको थियो। स्थानीय समयअनुसार मध्यरात, बिहान ३:३० र ४:३० बजे क्षेप्यास्त्र प्रहार गरिएको जनाइएको छ।
यद्यपि, ती प्रहारहरूबाट शहरी क्षेत्रमा कुनै क्षति नभएको र घाइतेको पनि रिपोर्ट नभएको “द टाइम्स अफ इजरायल” ले उल्लेख गरेको छ।
यो विषयमा इरानतर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यदि यो जानकारी पुष्टि भएमा, पछिल्ला तीन रात इरानबाट इजरायलतर्फ सयौं क्षेप्यास्त्र प्रक्षेपण गरिएको पृष्ठभूमिमा यो आक्रमणको तीव्रता उल्लेखनीय रूपमा घटेको मानिनेछ। अघिल्ला आक्रमणहरूमा इजरायलका रणनीतिक ठाँउहरूमा प्रहार हुँदा कम्तीमा २४ जनाको ज्यान गएको थियो।





