मङ्लबार, भदौ २८, २०८३
Breaking News

पाल्पामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, चालक गम्भीर घाइते

समाचार कक्ष मङ्लबार, असार १, २०८२

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–५ स्थित आर्यभन्ज्याङ–रामपुर कच्ची सडकखण्डमा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।

लु १ च ६७५६ नम्बरको जीप सोमबार बेलुका आर्यभन्ज्याङबाट रामपुरतर्फ जाँदै गर्दा करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल मल्लले जानकारी दिए।

दुर्घटनामा बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवामा बस्दै आएका करिब ४६ वर्षीय जीप धनी विनोद ढुङ्गाना र स्याङ्जाको गल्याङ नगरपालिका–७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनारको ज्यान गएको हो।

गम्भीर घाइते भएका ढुङ्गानालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा ल्याइएको थियो भने सुनारलाई युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो। दुवैलाई उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा जीप चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर