मङ्लबार, भदौ २८, २०८३
Breaking News

ट्रम्पको चेतावनी “इरानले निसर्त आत्मसमर्पण गर्नुपर्छ”: इरानमाथि अमेरिकी कारबाहीको संकेत

समाचार कक्ष बुधबार, असार २, २०८२

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनेईलाई “सजिलो निशाना” भन्दै कडा चेतावनी दिएका छन्। उनले इरानले आफ्नो परमाणु कार्यक्रम रोक्न नसके “गम्भीर परिणाम” भोग्नुपर्ने चेतावनी दिएका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “हामीलाई थाहा छ खामेनेई कहाँ लुकेका छन्। उनी सजिलो निशाना हुन्, तर अहिले नै उनलाई मारिने छैन, तर हाम्रो धैर्य सकिंदैछ।” ट्रम्पले इरानसँगको सम्भावित वार्ता पनि अब अप्रासंगिक भएको बताएका छन्। यसअघि उपराष्ट्रपति जेडी भान्सले पनि एक लामो पोस्टमार्फत ट्रम्प प्रशासनको इरानप्रति नीति स्पष्ट गर्दै भनेका थिए, “इरानले अब युरेनियम समृद्ध गर्न पाउँदैन, यसलाई रोक्न राष्ट्रपतिले कुनै पनि कदम चाल्न सक्छन्।”
राष्ट्रपति ट्रम्पले भनेका छन् ” इरानले निसर्त आत्मसमर्पण गरोस् अन्यथा परिणाम गम्भीर हुनसक्छ । “

इरान–इजरायलबीच युद्धको जोखिम

इरान र इजरायलबीच मिसाइल आक्रमणको सिलसिला जारी रहँदा अमेरिका युद्धमा संलग्न हुने वा नहुने भन्ने विषयमा बहस चुलिएको छ। ट्रम्प प्रशासनले युद्धको तयारी स्वरूप खाडी क्षेत्रमा युद्धपोत र लडाकु विमानहरू तैनाथ गरिसकेको छ।

यद्यपि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इजरायलको आक्रमणमा अमेरिका “सिधै संलग्न छैन” भनेर स्पष्ट पारेका छन्। उनले इजरायलको कारबाहीलाई “एकतर्फी” भनेका थिए।

संसदबाट युद्धमा संलग्नता रोक्ने विधेयक

अमेरिकी सांसदहरूले राष्ट्रपति ट्रम्पलाई बिना कंग्रेसको स्वीकृति युद्धमा जान नदिन नयाँ कानुनी प्रयास थालेका छन्। सांसद थोमस म्यासी (रिपब्लिकन) र रो खन्ना (डेमोक्र्याट) ले मिलेर ‘इरान युद्ध अधिकार प्रस्ताव’ नामक विधेयक ल्याउने घोषणा गरेका छन्। अर्का सिनेटर टिम केनले पनि अमेरिकी सेनालाई इरानविरुद्ध प्रयोग गर्न नपाइने अर्को विधेयक दर्ता गराएका छन्।

ट्रम्पले गुप्तचर निकायको चेतावनी अस्वीकार

ट्रम्पले अमेरिकी गुप्तचर निकायको रिपोर्टलाई अस्वीकार गर्दै इरान परमाणु हतियारको नजिक रहेको दाबी गरेका छन्। मार्चमा राष्ट्रिय गुप्तचर निर्देशक टुल्सी गेबार्डले भनेकी थिइन्, “इरानले २००३ पछि कुनै पनि समय परमाणु हतियार कार्यक्रमलाई पुनः सुरु गरेको प्रमाण छैन।” तर ट्रम्पले भने, “मलाई त्यस्तो रिपोर्टको कुनै मतलब छैन, उनीहरू नजिक छन्।”

आलोचना पनि तीव्र

मानव अधिकार तथा नीतिगत संगठनहरूले ट्रम्पको व्यवहारलाई “गैरजिम्मेवार र खतरनाक” भनेका छन्। एमपावर चेन्ज एक्शन फन्डकी यास्मिन ताएबले भनिन्, “राष्ट्रपतिले आफ्नै गुप्तचर समुदायको सल्लाह नमानेर युद्धतर्फ उन्मुख हुने संकेत दिएका छन्।” नेशनल इरानियन अमेरिकन काउन्सिलका अध्यक्ष जमाल अब्दीले भने, “यो युद्ध आवश्यकता होइन, ट्रम्पको रोजाइ हो।”

अमेरिकी नेतृत्वको इरानमाथिको कडा चेतावनी र इजरायलको समर्थनले मध्यपूर्वमा युद्धको सम्भावना थप बढाएको छ। ट्रम्प प्रशासनले अझै युद्धको स्पष्ट घोषणा नगरे पनि उनीहरूको अभिव्यक्ति र सैनिक गतिविधिले तनावको स्तर उच्च बनाइरहेको छ।

सम्बन्धित खबर