काठमाडौं | शान्त तर सशक्त विरोधका रूपमा उनीहरूले यसपटक कालो पोशाकलाई विरोधको संकेतका रूपमा प्रयोग गरेका हुन्।
यसअघि निलो रिबन बाँधेर उपस्थित भएका रास्वपाका सांसदहरू संसद्मा वेल घेर्ने, मौन धारण गर्ने, पलेँटी कसेर बस्ने जस्ता शैलीमा विरोध जनाउँदै आएका थिए। शुक्रबार भने उनीहरू कालो पोशाकमा बैठकमा पुगे, विरोध जनाए, र अन्ततः बैठक बहिष्कार गर्दै संसद् भवनबाट बाहिरिए।
सभामुख देवराज घिमिरेले उनीहरूलाई शान्त हुन र बैठकमा बस्न आग्रह गरे पनि रास्वपाका सांसदहरूले आफ्नो अडान नछाड्दा सभामुखले बैठक अगाडि बढाउन मन्त्रालयगत बजेटमाथिको छलफल निरन्तरता दिएका थिए।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ। नेपाली नागरिकहरूलाई भ्रमण (भिजिट) भिसाको नाममा विदेश पठाउने क्रममा मानव तस्करीमा संलग्न गिरोह सक्रिय रहेको खुलासासँगै गम्भीर आरोपहरू उठिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तर संसद् अवरोध गर्दै छानबिनको माग गर्दै आएको छ।
रास्वपाका सांसदहरूले शुक्रबार संसदमा कालो पोशाकमा उपस्थित भई बैठक बहिष्कार गरेका छन्। यसअघि निलो रिबन बाँधेर, मौन धारण गर्दै, वेल घेराउ गर्दै विरोध जनाउँदै आएका उनीहरूले अब आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।
मानव तस्करीको आशंका, राज्य संयन्त्रमाथि प्रश्न
भिजिट भिसाका नाममा नेपाली नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने क्रममा मानव तस्करी भइरहेको आशंका गरिएको छ। विपक्षी सांसदहरूले यसमा राजनीतिक संरक्षण, प्रशासनिक लापरबाही र दलालहरूको संलग्नता रहेको दाबी गर्दै आएका छन्। खासगरी अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग र गृह मन्त्रालयको भूमिकामाथि प्रश्न उठाइएको छ।





