मङ्लबार, भदौ २८, २०८३
Breaking News

इजरायल -इरान युद्ध बाह्रौं दिनमा रोकियो

समाचार कक्ष मङ्लबार, असार ८, २०८२

काठमाडौँ | इरान र इजरायलबीच १२ दिन लामो भीषण संघर्षपछि अन्ततः युद्धविरामको सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रिय पहलमा भएको यस सहमतिले मध्यपूर्वमा लामो समयदेखि जारी तनावलाई कम गर्ने आशा जगाएको छ।

मंगलबार बिहान इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले ट्रम्पको प्रस्तावअनुसार द्विपक्षीय युद्धविराम स्वीकार गरेको घोषणा गरेका छन् । उनले भने, “हामीले हाम्रो सैन्य अभियानका लक्ष्य हासिल गरेका छौँ र यो युद्धविराम तत्काल प्रभावमा छ। तर कुनै पनि उल्लंघन भएमा कडा प्रतिक्रिया दिइनेछ।”

यसअघि इरानी पक्षले पनि युद्धविराम लागू भएको पुष्टि गरेको थियो। इरानी विदेश मन्त्री अब्बास अर्घचिले अन्तिम समयसम्म इजरायलमाथि मिसाइल प्रहार गर्ने आफ्नो सैन्य बलको अभियान जारी राखेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए। उनका अनुसार, ६ चरणमा मिसाइल आक्रमणहरू गरिएको र जसले इजरायली क्षेत्रमा केही नागरिकको मृत्यु समेत भएको बताएका छन् ।

तेहरानस्थित विदेशी सन्चारमाध्यमका सम्बाददाताहरुले जनाए अनुसार इजरायली हवाई आक्रमणहरू रोकिएका छन् । यद्यपि दुवै पक्षले आक्रमण पुनः सुरु भए कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् जसले यो अवस्था अझै संवेदनशील भएको देखाउँछ।

यसै सन्दर्भमा, इजरायलको विपक्षी पार्टीले गाजामा २० महिनादेखि जारी युद्ध पनि समाप्त गर्न प्रधानमन्त्री नेतन्याहुलाई आग्रह गरेका छन्। विपक्षी नेता याएर लापिदले सामाजिक सञ्जालमा भने, “अब गाजा पनि शान्ति स्थापना गरौं, बन्धकहरू फिर्ता ल्याऔं।” तर नेतन्याहुको पार्टीका केही कट्टरपन्थी सदस्यहरूले इरानलाई अझै खतरनाक भनेका छन् र “पराजित नगरेसम्म यो समस्या अन्त्य नहुने” बताएका छन्।

मध्यपूर्वको यो युद्ध इजरायलले इरानलाई आणविक हतियार विकास गरेको आरोप लगाउँदै जुन १३ मा सुरु गरेको थियो। त्यसपछि अमेरिकाले पनि इरानका परमाणु स्थलहरूमा हवाई हमला गरेको थियो। युएनका आणविक नियामक निकाय IAEA ले अहिले इरानका परमाणु स्थलगत निरीक्षणका लागि अनुरोध गरेको छ। इरानी अधिकारीहरू भने क्षतिको मूल्यांकन गर्दै परमाणु कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै आएका छन् ।

सम्बन्धित खबर