मङ्लबार, भदौ २८, २०८३
Breaking News

अछामको बयालपाटा अस्पताललाई जापानबाट स्वास्थ्य उपकरण सहयोग

समाचार कक्ष मङ्लबार, असार ८, २०८२

अछाम, असार १० – अछाम जिल्लाको सांफेबगर नगरपालिकास्थित बयालपाटा अस्पतालमा जापान सरकारको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण समारोह सम्पन्न भएको छ। असार १० गते (जुन २४) सम्पन्न कार्यक्रममा नेपालका लागि जापानका कार्यवाहक राजदूत (Charge d’Affaires ad interim) श्री तमुरा ताकाहिरो सहभागी थिए।

जापान सरकारले ‘ग्रान्ट असिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट’ (GGP) कार्यक्रमअन्तर्गत बयालपाटा अस्पताललाई ट्रमा केयर तथा अस्थि–शल्यचिकित्सा (Orthopedic Surgery) सेवाका लागि आवश्यक उपकरण खरिद गर्न ६६,२६३ अमेरिकी डलर (करिब ८९ लाख नेपाली रुपैयाँ) अनुदान दिएको हो।

बयालपाटा अस्पताल नयां स्वास्थ्य नेपाल (Nyaya Health Nepal) नामक गैरसरकारी संस्थाद्वारा प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालित अस्पताल हो। उक्त अस्पतालले सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, डोटी जिल्लाका साथै कर्णाली प्रदेशका कालीकोट र दैलेख जिल्लाका बिरामीहरूलाई सेवा प्रदान गर्दै आएको छ।

समारोहमा बोल्दै कार्यवाहक राजदूत तमुराले परियोजना सफल बनाउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै उक्त सहयोगले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने र जापान तथा नेपालबीचको मित्रतालाई अझ सुदृढ बनाउने बताए।

ग्रासरुट्स स्तरमा सीधा लाभ पुर्‍याउने उद्देश्यले सन् १९९१ मा सुरु गरिएको GGP कार्यक्रमअन्तर्गत नेपालमा हालसम्म २०० भन्दा बढी परियोजना कार्यान्वयनमा आइसकेका छन्।

उक्त कार्यक्रमले ग्रामीण तथा पिछडिएका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, महिला सशक्तीकरण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ।

सम्बन्धित खबर