काठमाडौं | वर्षे धान खेतीको सुरुवातका रूपमा लिइने असार १५ गते देशभर “राष्ट्रिय धान दिवस” विविध कार्यक्रमसहित मनाइँदै छ। धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित सरकारले २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको हो। आज बिहानैदेखि देशका विभिन्न जिल्लामा किसानहरू खेतमा रोपाइँ गर्दै, आसरे गीत गाएर रमाउँदै, दही–चिउरा खाएर पर्वको रूपमा दिवस मनाइरहेका छन्।
नेपालमा तराइ देखि पहाड र हिमाली भेगका किसानहरूले धान खेति गर्छन् । अहिले त धान रोपाइँमा सहभागी भएका दृश्य सामाजिक सञ्जालमा समेत व्यापक रूपमा देख्न सकिन्छ।
असार १५ लाई प्रतीकात्मक रूपमा धान रोपाइँको सुरुवातको दिन मानिने भएकाले किसानहरू यो दिनलाई पर्वसरह मनाउने गरिएको हो । राष्ट्रिय स्तरमा आज रोपाइँ विशेष कार्यक्रम हुने गर्दछ । ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान केन्द्र, चितवनको भरतपुर, बुटवल, पोखरा, धनकुटा, इलाम, बर्दिया, नवलपुर, उदयपुर, सुनसरीलगायत जिल्लामा ‘धान दिवस’ को अवसरमा विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।
कृषकहरूका लागि खेतमा पसिना बगाएर बिउ रोप्नु यो उत्सव मात्र होइन, यो संस्कार र संस्कृतिको निरन्तरता पनि हो ।परम्परागत रूपमा किसानहरू रोपाइँको बीचमा दही–चिउरा, केरा र आँप जस्ता फलफूल खाएर आराम गर्ने चलन छ, जसले कृषि संस्कृतिलाई पनि जीवित राखेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, यो वर्ष १४ लाख हेक्टरभन्दा बढी जमिनमा धान खेती हुने अनुमान गरिएको छ। यद्यपि सदाको बर्ष झैं किसानलाई रोपाइँको चटारोको बीच मलको अभाव भने समाधान हुन सकेको छैन । घट्दो पशुपालनले प्रांगारिक मलको उत्पादन असाध्यै न्यून छ । रसायनिक मलको प्रयोग बिना कृषि उत्पादनको परिकल्पना नै गर्न नसकिने अवस्था सिर्जना हुँदै गरेको परिवेशमा विदेशबाट आयातित रसायनिक मलमा निर्भर नेपाली किसानहरुका लागि यो सदाबहार चुनौती रहँदै आएको छ ।





