काठमाडौं | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको पछिल्लो फोन संवादपश्चात् युक्रेनमाथि रुसले हालसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ।
शुक्रबार बिहानसम्म १३ घण्टासम्म लगातार चलेको आक्रमणमा रुसले ५३९ ड्रोन प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ। तीमध्ये ४७६ ड्रोन युक्रेनी सेनाले खसालेको बताइएको छ। रुसले ११ वटा क्रुज र बलिस्टिक मिसाइलसमेत प्रहार गरेको जनाइएको छ।
आक्रमणमा परी कम्तीमा २३ जना घाइते भएका छन्। राजधानी किभका आवासीय भवन र पूर्वाधारहरूमा व्यापक क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।
सबवे र पार्किङमै बित्यो रात
बिहीबार रातिदेखि शुरु भएको आक्रमणको डरले हजारौं नागरिकहरूले सबवे स्टेशन तथा भूमिगत पार्किङस्थलहरूमा रात बिताएका थिए। विस्फोट र ड्रोनको आवाजले सहरभर त्रास फैलिएको थियो।
“किभमा अहिलेसम्मकै एकदमै डरलाग्दो र निद्राविहीन रात भयो,” युक्रेनका विदेशमन्त्री आन्द्रि सिबिहाले भने। राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले यो आक्रमणलाई “सबैभन्दा ठूलो हवाई हमला” का रूपमा चित्रित गरे।
उनले भने, “हिजो बेलुकादेखि सहरहरूमा हवाई साइरन बज्न थालेको समय पुटिन र ट्रम्पको फोन संवादबारे मिडियामा खबर आउन थालेको समयसँग मिल्दो थियो। यसले फेरि प्रमाणित गर्यो कि रुस शान्ति चाहँदैन, आतंक फैलाउन चाहन्छ।”
भवन, एम्बुलेन्स र रेल संरचना ध्वस्त
राज्य आपतकालीन सेवा विभागका अनुसार किभका धेरै स्थानमा भवनमा आगलागी भएको छ भने केही बहुमंजिला संरचना पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन्। किभको रेल सेवा अवरुद्ध भएको छ भने घाइतेको उद्धारका लागि गएका ५ वटा एम्बुलेन्सहरू पनि क्षतिग्रस्त भएका छन्।
पछिल्ला दिनहरूमा तीव्र बनेको रुसी हमला
पछिल्ला केही सातादेखि रुसले युक्रेनमाथि नियमित रूपमा रातिको समयमा सयौँ ड्रोन र मिसाइल प्रहार गर्दै आएको छ। युक्रेनी अधिकारीका अनुसार केवल जुन महिनामा मात्र रुसले करिब ३३० मिसाइल (जसमध्ये ८० बलिस्टिक) र ५,००० भन्दा बढी ड्रोन तथा ग्लाइडिङ बम प्रहार गरिसकेको छ।
यसअघि पनि पाँच दिनअघि मात्र रुसले ५३७ ड्रोन र मिसाइल प्रहार गर्दै एकै रातको हमला कीर्तिमान राखेको थियो।
ट्रम्प–पुटिन संवाद र असन्तुष्टि
बिहीबार राष्ट्रपति ट्रम्पले पुटिनसँग करिब एक घण्टासम्म फोन संवाद गरेका थिए। संवादपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “हामीले युक्रेनलगायत थुप्रै विषयमा कुरा गर्यौं। तर म सन्तुष्ट छैन।”
पत्रकारले युक्रेनमा युद्ध अन्त्य गर्न कुनै प्रगति भएजस्तो लाग्यो कि भनेर सोध्दा उनले स्पष्ट शब्दमा भने, “होइन। आज मैले पुटिनसँग कुनै प्रगति गरेँ जस्तो लागेन।”
ट्रम्पले शुक्रबार बिहान युक्रेनी राष्ट्रपति जेलेंस्कीसँग पनि कुरा गर्ने बताएका छन्। उनले भने, “पुटिनसँगको संवादबाट म निकै निराश छु। मलाई लाग्छ उनी युद्ध अन्त्य गर्न चाहँदैनन्।”
अमेरिकाबाट हतियार सहायता रोकिने निर्णय
यहीबीच, ट्रम्प प्रशासनले युक्रेनलाई दिइँदै आएको केही हतियार सहायता रोकेको छ। हवाई प्रतिरक्षा मिसाइल लगायतका हतियार आपूर्तिमा रोक लगाउने निर्णय अमेरिका भित्रको सैन्य भण्डारण व्यवस्थापनका कारण गरिएको ट्रम्पले बताएका छन्।
अमेरिकाले सन् २०२२ मा युद्ध सुरु भएयता युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहायता गर्दै आएको छ। तर ट्रम्प सत्तामा फर्किएपछि सहयोगमा कटौती हुने संकेत देखिएको छ।
रुसी सन्देश : युद्ध लक्ष्यबाट पछि हट्दैनौँ
रूसी समाचार संस्था TASS का अनुसार, ट्रम्प–पुटिनबीचको फोन संवादमा युक्रेनलाई हतियार नपठाउने निर्णयबारे चर्चा नभएको भए पनि युद्ध सक्दो चाँडो अन्त्य गर्ने विषय उठेको जनाइएको छ। त्यसबेला पुटिनले “रुस आफ्नो युद्ध लक्ष्यबाट पछि हट्दैन” भन्ने जवाफ दिएको उल्लेख गरिएको छ।
(सीएनएन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको समाचार)





