मङ्लबार, भदौ २८, २०८३
Breaking News

रसुवा बाढीमा बेपत्ताहरुको खोजि कार्य जारी, २० जनाको अवस्था अझै अज्ञात

समाचार कक्ष बुधबार, असार २३, २०८२

रसुवा | रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले सीमा नजिकको क्षेत्र तहसनहस बनाएको छ। चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मैत्री (मितेरी) पुल, भन्सार यार्ड, सुक्खा बन्दरगाह, हाइड्रोपावर परियोजनाको ड्याम र मजदुर क्याम्प बगाएको छ। हालसम्म ९ जनाको शव फेला परेको छ भने २० जनाभन्दा बढी बेपत्ता छन्।

मंगलबार बिहान करिब ३ बजेतिर आएको बाढीले चिनियाँ कामदारहरू बस्दै आएको शिविर र प्रहरी टोली खटिएको ठाउँ समेत बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

बेपत्ता र मृतक

बाढीमा परेर ज्यान गुमाउनेमा प्रहरी सहायक–निरीक्षक लालबहादुर श्रेष्ठसहित नेपाल र चीनका नागरिकहरू छन्। हालसम्म फेला परेका शवहरूमा केहीको पहिचान खुलेको छ भने अन्यको खोजी कार्य जारी छ।

बेपत्ता हुनेहरूमा ६ चिनियाँ नागरिक, ३ जना नेपाली प्रहरी, र अन्य १० जना नेपाली मजदुर तथा चालकहरू रहेका छन्। बेपत्तामध्ये अधिकांश रसुवागढी–केरुङ क्षेत्रको निर्माण कार्यमा संलग्न थिए।

उद्धार कार्य

घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ। हालसम्म ५५ जनाभन्दा बढीलाई सकुशल उद्दार गरिएको छ जसमा ४ जना भारतीय नागरिक र १ चिनियाँ नागरिक पनि छन्।

उद्धार कार्यमा ३८३ सुरक्षाकर्मी परिचालित गरिएको छ। स्थानीयवासी, प्रहरी र सेनाको सहयोगमा त्रिशुली नदी आसपासका क्षेत्र, नदी किनार र बाढीले क्षतिग्रस्त बनाएका स्थानमा खोजी तीव्र रूपमा भइरहेको छ।

संरचनागत क्षति

बाढीले रसुवागढीस्थित नेपाल–चीन मितेरी पुल पूर्ण रूपमा भत्किएको छ। त्यससँगै सुक्खा बन्दरगाह क्षेत्रमा राखिएका करिब ७० वटा विद्युत् गाडी (इभी) बगेका छन्। सीमा व्यापार ठप्प भएको छ भने केरुङ हुँदै सञ्चालन हुँदै आएको आयात–निर्यात तत्कालका लागि बन्द गरिएको छ।

भोटेकोशीमा निर्माणाधीन हाइड्रोपावरको ड्याम र क्याम्पसमेत क्षतिग्रस्त भएका छन्। भन्सार यार्ड, भन्सार कार्यालय र सशस्त्र प्रहरीको क्याम्पमा समेत क्षति पुगेको छ।

प्रधानमन्त्रीको निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार नै घटनास्थल पुगेका थिए। उनले घटनाको स्थलगत निरीक्षण गर्दै उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले मितेरी पुलमा तत्काल बेलिब्रिज बनाएर भए पनि नाकाको बाटो सञ्चालनमा ल्याउन चिनियाँ राजदूतलाई आग्रह गरेको मन्त्रिपरिषद बैठकमा जानकारी दिएका छन्। रसुवागढीको स्थलगत अवलोकनबाट फर्केलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो |

सम्भावित कारण

प्रारम्भिक अनुमान अनुसार बाढीको कारण अत्यधिक वर्षा नभई चीनतर्फको भू–क्षय वा हिमताल फुटेको हुनसक्ने बताइएको छ। यसबारे वैज्ञानिक संस्था आइसीआईएमओडीले अनुसन्धान सुरु गरिसकेको छ।

रसुवाको यो बाढीले जनधनको ठुलो क्षति पुर्‍याएको छ। सीमावर्ती संरचना, व्यापारिक गतिविधि र जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ। खोजी तथा उद्धार कार्य अझै जारी छ, बेपत्ताहरूको अवस्थाबारे पूर्ण जानकारी आउन केही समय लाग्ने देखिन्छ। सरकारले सम्पूर्ण प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माण कार्यलाई शीघ्र र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर