मुस्ताङ | उपल्लो मुस्ताङमा मङ्गलबार साँझ आएको लेदोसहितको भीषण बाढीले ६ वटा पुलमा क्षति पुर्याएको छ। नेपाल–चीन सीमानजिकको लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा लामो बाढी आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
बाढीले लोमान्थाङ–४ मा रहेको एक पक्की मोटरेबल पुल र लोमान्थाङ–२ साम्जुङमा निर्माणाधीन अर्को पक्की पुलमा क्षति पुगेको छ। साथै, तीन वटा काठेपुल र एउटा फलामे पुल समेत बगाएर नष्ट भएको जनाइएको छ।
मानवीय र पशुचौपायामा भने क्षति भएको छैन। सुरक्षाका लागि इलाका प्रहरी कार्यालय छोसेर र सशस्त्र प्रहरी बल बीओपी नेचुङबाट ९ जनाको टोली परिचालन गरिएको छ। बाढीपछि जोखिममा रहेका खोलाबीचको एक होटल र न्याम्डो गाउँका दुई घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालाई उद्धृत गर्दै राससले आफ्नो समाचार संस्करणमा उल्लेख गरेको छ।
हाल बाढीको बहाव कम भए पनि संभावित जोखिम कायमै रहेकाले सतर्कता अपनाउन प्रशासनले स्थानीयलाई आग्रह गरेको छ।





