काठमाडौँ | आज दिउँसो एमाले केन्द्रीय कार्यालय, च्यासलमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या देवी भण्डारीबीच एक घण्टा लामो विशेष भेटवार्ता सम्पन्न भएको छ। पछिल्लो समय एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन, सदस्यता नवीकरण र पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियता सम्बन्धमा चासो बढिरहेका बेला भएको उक्त भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।
भेटवार्तामा पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा आफ्नो भूमिका र जिम्मेवारी स्पष्ट हुनुपर्नेमा जोड दिएको स्रोतले बताएको छ। साथै, अध्यक्ष ओलीले पनि पार्टीको विधान, निर्णय प्रक्रिया र भण्डारीको सदस्यता नवीकरणसम्बन्धी विषयमा औपचारिक छलफलका लागि केन्द्रीय समिति बैठकमा प्रस्ताव प्रस्तुत गरिने जानकारी दिएका छन्।
यसअघि भण्डारीले एमालेको साधारण सदस्यता नवीकरण गरेकी थिइन् तर हालै बसेको सल्लाहकार समूहको बैठकले उक्त विषयमा निर्णय अध्यक्षसँग प्रत्यक्ष संवादपछि लिनुपर्ने सिफारिस गरेको थियो। यही सन्दर्भमा आजको भेट आयोजना गरिएको बताइएको छ।
भेटका क्रममा पार्टीको आन्तरिक लोकतन्त्र, संगठनात्मक संरचना, विधान संसोधन तथा आगामी महाधिवेशनसम्बन्धी विषयमा पनि सामान्य कुराकानी भएको जनाइएको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले “भेट सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो, आवश्यक निर्णय सोमबारको केन्द्रीय समिति बैठकले गर्नेछ” भन्ने प्रतिक्रिया दिएका छन्।
पार्टी स्रोतका अनुसार भण्डारी पार्टीको नेतृत्वमा सक्रिय भूमिकामा आउने सम्भावनालाई लिएर समेत ओलीसँग खुलेर संवादमा उत्रिएकी थिइन्। यसरी पार्टीको नेतृत्व तहमा नयाँ सन्तुलन खोज्ने क्रममा आजको भेट एमाले राजनीति र भित्रि शक्ति समीकरणमा निर्णायक मोड हुनसक्ने अनुमान गरिएको छ।
अब आउने सोमबार बस्ने भनिएको पार्टी केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता र पार्टीभित्रको भूमिकासम्बन्धी ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।





