कुवेत | कुवेतमा मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण कम्तीमा १० जना नेपाली श्रमिकको मृत्यु भएको पुष्टि भएको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार थप ३०–३५ जना नेपाली अस्पतालमा उपचाररत छन्, जसमा केहीको अवस्था गम्भीर छ।
स्थानीय नेपाली संघसंस्थाले मृत्यु संख्या अझै बढी हुन सक्ने दाबी गरेका छन्। कतिपयले १६ जना नेपालीको मृत्यु भएको बताएका भए पनि दूतावासले त्यसलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन।
यो घटनाले अन्य दक्षिण एसियाली कामदारलाई समेत प्रभावित पारेको छ। अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २२ श्रमिकले ज्यान गुमाइसकेका छन्, जसमा कतिपयको मृगौला डायलाइसिस गर्नुपरेको र दृष्टि गुमाउने अवस्था आएको बताइएको छ।
कुवेत सरकारले घटनाको स्रोत पत्ता लगाउन अनुसन्धान थालेको छ र दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
नेपालको परराष्ट्र मन्त्रालयले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकको परिवारप्रति समवेदना प्रकट गरेको छ। मन्त्रालयले कुवेतस्थित दूतावासमार्फत प्रभावित नेपालीको उपचार तथा मृतकको शव नेपाल ल्याउने कार्यमा पहल भइरहेको जनाएको छ।





