काठमाडौं । नयाँ पुस्ता जेनजी (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) ले २३ भदौ, सोमबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरोधी प्रदर्शन गर्ने भएका छन्। सामाजिक सञ्जाल बन्द, बढ्दो भ्रष्टाचार, वंशवाद र बेरोजगारीलगायत मुद्दा उठाउँदै उनीहरूले ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ नामक अभियानका साथ सडकमा उत्रने घोषणा गरेका हुन्।
आयोजकहरूले बिहान ११ बजे हुने प्रदर्शनमा विद्यार्थी पोशाकमा, परिचयपत्रसहित, कम्तीमा एउटा किताब र ए४ साइजको खाली कागज बोकेर उपस्थित हुन आह्वान गरेका छन्। नेतृत्व कसले लिन्छ भन्ने स्पष्ट नभए पनि यो आन्दोलन स्वतःस्फूर्त रुपमा सुरु भएको र कुनै राजनीतिक दल वा संगठनको झण्डा नहुने प्रष्ट पारिएको छ। ‘वेक अप युथ, वेक अप जेनजीज्’ जस्ता नारा अभियानको केन्द्रमा रहेका छन्।
यसअघि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि युवाहरू आक्रोशित बनेका थिए। टिकटकमा सुरु भएको ‘नेपो बेबी’ ट्रेण्डले पनि आन्दोलनलाई बलियो बनाएको छ। उक्त ट्रेण्डमा नेताहरूका छोराछोरीले भोगिरहेको विलासी जीवनशैली र सर्वसाधारण युवाको संघर्षबीचको गहिरो असमानता प्रस्तुत गरिएको छ। प्रधानमन्त्रीदेखि पूर्वराष्ट्रपति तथा शीर्ष नेताहरूका परिवारलाई लक्षित गर्दै बनेका भिडियोहरूले युवामा असन्तोष फैलाएका छन्।
नेपालमा देखिएको यो लहर फिलिपिन्स र इन्डोनेसियामा सुरु भएका यस्तै अभियानसँग पनि जोडिएको छ। त्यहाँ नेताका सन्तानको ऐश्वर्यमाथि बनेका भिडियोहरूले आम नागरिकलाई आन्दोलनतर्फ उक्साएको थियो। नेपालमा पनि सोही शैलीमा बनेका भिडियोहरू सामाजिक सञ्जालमार्फत व्यापक रुपमा फैलिरहेका छन्।
लेखक, उद्यमी र सामान्य प्रयोगकर्तासमेतले यो आन्दोलनलाई समर्थन जनाएका छन्। विभिन्न शहरहरूमा समेत जेनजीहरूले प्रदर्शन गर्ने घोषणा गरिसकेका छन्। सामाजिक सञ्जालमा व्यक्त आक्रोशलाई सडकमा उतार्न लागिरहेको यो आन्दोलनले नेपाली राजनीतिमा नयाँ पुस्ताको चेतना, आकांक्षा र असमानताविरुद्धको विद्रोहलाई देखाउने बताइन्छ। विश्लेषकहरूले यसलाई ‘सत्ताको कार्यशैलीविरुद्धको नयाँ बिगुल’का रुपमा व्याख्या गरेका छन्।





