काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शन आज नयाँ बानेश्वर क्षेत्रमा हिंसात्मक बन्दै गएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
दिउँसो संसद भवन परिसर नजिकै प्रदर्शनकारी प्रवेश गरेपछि प्रहरीसँग भिडन्त भएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले रबरको गोली र हवाई फायरसमेत गर्नुपरेको छ। अश्रुग्यास प्रहारसहितको बल प्रयोगपछि समेत भीड नछट्पटिएपछि कर्फ्यु आदेश लागू गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार आज दिउँसो १२:३० बजेदेखि राति १० बजे सम्म नयाँ बानेश्वर क्षेत्र कर्फ्यु क्षेत्र घोषणा गरिएको हो। यस अवधिमा कुनै पनि सभा, जुलुस वा सार्वजनिक जमघट गर्न प्रतिबन्ध लगाइएको छ।
प्रहरीको गोली लागेर विभिन्न प्रदर्शनकारी घाइते भएका छन् भने तीन जना पत्रकार पनि घटनास्थलमा घाइते भएका समाचार आएका छन्। परिचय नखुलेका एक घाइते गम्भीर अवस्थामा सिभिल अस्पताल, बानेश्वरमा उपचाररत छन्। झडपमा घाइते हुनेको संख्या बढ्दो छ ।
युवाहरूले सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध सडकमा उत्रिँदै आन्दोलन चर्काएका हुन्। माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा बिहान ९ बजे देखि प्रदर्शनकारीको बाक्लो उपस्थिति छ ।
प्रशासनले कर्फ्यु उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही गर्ने चेतावनी दिएको छ।
यसै बीच सुरक्षा सम्बेदनशिलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौँले प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति तथा उपराष्ट्रपति निवास, नारायणहिटी तथा केशरमहल क्षेत्र समेटेर कर्फ्यु आदेश जारी गरिएको छ ।






