अपडेट २ : नयाँ मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये केवल बब्लु गुप्ता र सुधा शर्मा गौतमले मात्र आज शपथ लिने भएका छन्। खगेन्द्र सुनार को नाममा विवाद उत्पन्न भएपछि सुनार सहित, गणपतिलाल श्रेष्ठको शपथ स्थगित गरिएको गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सुनारको नाममा उठेको विवादपछि थप छलफल गरेकी थिइन्। राष्ट्रपति कार्यालयले दिउँसो साढे २ बजे शपथ ग्रहण कार्यक्रम तय गरेको छ।
अपडेट १ :मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी हुँदै गर्दा मन्त्रीको सूचीमा रहेका खगेन्द्र सुनारको पृष्ठभूमि माथि सामाजिक सन्जालमा व्यापक प्रश्न उठेपछि छलफलका लागि भन्दै प्रधानमन्त्री कार्यालयले तत्कालका लागि सूचीबाट नाम हटाउने सम्भावना रहेको बताइएको छ ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् विस्तारको गर्दै चार नयाँ मन्त्रीको सपथको तयारी गरिएको छ । नयाँ नियुक्त हुने मन्त्रीहरुको आजै दिउँसो २:३० बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्री कार्कीले बिहानै राष्ट्रपति कार्यालयमा चार जना नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेकी थिइन्। तीमध्ये डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यसअघि गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने प्रारम्भिक तयारी गरिएको भए पनि अन्तिम समयमा परिमार्जन गरी उनलाई भूमि मन्त्रालय जिम्मा दिने निर्णय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
शपथग्रहणको तयारी अन्तिम चरणमा
राष्ट्रपति भवन शीतल निवासमा नयाँ मन्त्रीहरूको शपथग्रहण समारोहको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा हुने उक्त समारोहमा उच्च पदस्थ अधिकारीहरू, राजनीतिक प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहनेछ।
नव नियुक्त मन्त्रीहरुको पृष्ठभूमि
डा. सुधा शर्मा गौतम – स्वास्थ्य तथा जनसंख्या मन्त्री : डा. शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनी सन् २००८ देखि २०११ (वि.सं. २०६५–२०६८) सम्म स्वास्थ्य मन्त्रालयकी सचिवका रूपमा कार्यरत रहिसकेकी थिइन्। ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तककी लेखिका समेत रहेकी उनले प्रशासनिक र नारी अधिकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकी छिन्।
गणपतिलाल श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री : श्रेष्ठ प्रसिद्ध सांस्कृतिक सम्पदा संरक्षण अभियन्ता हुन्। उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदाको पुनर्निर्माण तथा संरक्षणमा अग्रणी भूमिका निर्वाह गरेका छन्। उनी अनलाइनखबरद्वारा प्रकाशित “४० वर्षमुनिका ४० प्रभावशाली युवा” सूचीमा पनि चयन भएका थिए।
खगेन्द्र सुनार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री :सुनार दलित अधिकार अभियन्ताका रूपमा परिचित छन्। उनले छुवाछूत र सामाजिक विभेदविरुद्ध निरन्तर अभियान चलाउँदै आएका छन्। ‘दलितलाई खै’ नामक अभियानका माध्यमबाट चर्चामा आएका उनी नवराज विक हत्या प्रकरणपछि रुकुम पश्चिममा न्यायका मागसहित १० दिनसम्म धर्नामा बसेका थिए।
बब्लु गुप्ता – युवा तथा खेलकुद मन्त्री: सामाजिक अभियन्ता बब्लु गुप्ता परोपकारी संस्था **‘हन्ड्रेड ग्रुप’**का संस्थापक हुन्। उनले कोभिड महामारीका समयमा निःशुल्क खाना वितरण, कपडा बैंक अभियान तथा रगत संकलन कार्यक्रम सञ्चालन गरेका थिए। गुप्ता पनि अनलाइनखबरको “४० वर्षमुनिका ४० प्रभावशाली युवा” सूचीमा चयन भएका थिए।





