मङ्लबार, भदौ २८, २०८३
Breaking News

सवारीसाधन रहित असनको तयारी

समाचार कक्ष बिहिबार, चैत्र २४, २०८२

काठमाडौ, चैत्र २६। काठमाडौंको ऐतिहासिक तथा व्यापारिक केन्द्र असन को मौलिकता संरक्षण गर्न नयाँ पहल अघि सारिएको छ। काठमाडौं महानगरपालिकाले वैशाख ५ गतेदेखि हरेक शनिवार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गर्ने निर्णय गरेको हो।

यसअघि चैत २८ गतेदेखि कार्यक्रम सुरु गर्ने तयारी भए पनि तयारीलाई अझ व्यवस्थित बनाउन एक हप्ता पछाडि सारिएको हो। कार्यवाहक प्रमुख सुनिता डंगोल को अध्यक्षतामा बसेको बैठकले सरोकारवालासँगको सहकार्यमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको हो।

बैठकमा डंगोलले असनको ऐतिहासिक, धार्मिक र सामाजिक महत्व उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताइन्। “असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका आवश्यक सामग्री पाइने स्थल हो,” उनले भनिन्, “यसको मौलिकता जोगाउँदै दीगो कार्यक्रम सञ्चालन गर्नुपर्छ।”

वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी ले स्थानीय समुदायको सक्रिय सहभागितामा कार्यक्रम अगाडि बढाइने बताए। उनका अनुसार यसले असन बजारको पहिचान जोगाउनुका साथै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा सहयोग पुर्‍याउनेछ।

‘भेहिकल फ्री असन’ अन्तर्गत कमलाक्षी चोक, भोटाहिटी र महाबौद्ध क्षेत्र हुँदै असनसम्म सवारी आवागमन बन्द गरिनेछ। वैकल्पिक मार्गको व्यवस्था गरिनेछ भने पैदल यात्रुका लागि सुरक्षित र सहज वातावरण बनाइनेछ।

सुरक्षा तथा व्यवस्थापनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय, ट्राफिक प्रहरी र महानगर प्रहरी बलले समन्वय गर्नेछन्।

कार्यक्रममार्फत असनलाई सम्पदा मार्गका रूपमा विकास गर्दै परम्परागत व्यापार, सांस्कृतिक गतिविधि र सामाजिक जीवनशैलीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित खबर